विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतका लागि विपक्षी नेकपा एमाले र राप्रपालाई पत्र पठाएका छन् । मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । त्यसका लागि मुख्यमन्त्री थापाले पत्र पठाएर एमाले र राप्रपासँग विश्वासको मत दिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि त्यसलाई असफल बनाउन एमाले र राप्रपा दुवैले आफ्ना जेष्ठ सदस्यलाई बिदामा राखेका छन्। एमालेका सात र राप्रपाका २ सांसदले घरायसी कारण देखाउँदै प्रदेश सभामा अनुपस्थित हुने निवेदन दिइसकेका छन् । यसले मुख्यमन्त्री थापालाई अप्ठ्यारोमा पारेको छ ।
एमालेका ६ सांसद भने ‘घरायसी समस्या’मा परेका कारण प्रदेशसभामा उपस्थित हुन नसक्ने निवेदन दिएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । बैठकमा प्रदेश सभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसद अनुपस्थित हुने भएपछि एमालेको रणनीति विश्वासको मत फेल गराउने रहेको देखिन्छ ।
त्यसैगरी राप्रपाका सांसदहरू अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माले पनि बैठकमा उपस्थित हुन नसक्ने भन्दै बिदाको निवेदन दर्ता गराएका छन् । एमालेबाट निर्वाचित सांसद रहेकी उपसभामुख सिर्जना दनुवार पनि प्रदेश सभा बैठकका अनुपस्थित भएमा ज्येष्ठ सदस्यहरूले बैठकको अध्यक्षता गर्नुपर्ने नियम छ।
तर, आफ्ना सबै ज्येष्ठ सदस्यहरू अनुपस्थित गराएर एमालेले प्रदेश सभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण गर्न लागेको हो । अध्यक्ष मण्डलमा रहेका राप्रपाका सांसद अम्बरबहादुर विष्टले पनि बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएपछि सत्ता गठवन्धन अप्ठ्यारोमा परेको छ। यसरी बिदामा बसेका एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी छन् ।
प्रदेश सभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ। तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ। नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले बैठक सञ्चालन गर्नुपर्नेछ।
उनीहरु गठबन्धनका सांसद हुन् । यदि सत्ता गठबन्धनका ज्येष्ठ सदस्यले बैठकको अध्यक्ष भएमा सत्ता गठवन्धनको ४६ सांसद हुनेछन् । विश्वासको मतका लागि ४७ सांसद आवश्यक हुने भएकाले सत्ता गठबन्धन अप्ठ्यारोमा परेको हो ।
९२ सदस्यीय कोशी प्रदेशको गणित निकै अप्ठ्यारोमा परेको छ । थापा यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरी मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतले त्यसलाई अवैध ठहर गरी उनलाई पदमुक्त गरिदिएको थियो । त्यसपछि थापा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका छन् । तर अहिले विश्वासको मत पाउन परिस्थिति कठिन बनेको छ ।