भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ र उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो ।
विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ । २३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ ।
चन्द्र सतहको निकै नजिकसम्म पुर्याएपछि ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग भइसकेको छ । सार्वजनिक भएको श्यामश्वेत तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन् । एउटा तस्बिरमा प्रोपल्सन पनि देखिएको छ ।
चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । भारतको चन्द्रयान–३ सँगै रुसको ‘लुना–२५’ पनि चन्द्रमाको दक्षिणी ध्रुवतर्फ गइरहेको छ।
दुवै अन्तरिक्षयानहरू यहाँ केही दिनको अन्तरालमा अवतरण हुने अपेक्षा गरिएको छ । लुना–२५ सन् १९७६ यता रुसले प्रक्षेपण गरेको आफ्नो पहिलो चन्द्रयान हो । त्यसबेला सोभियत सङ्घको अङ्ग रहेकै समयमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाएको थियो । गत साता प्रक्षेपण गरिएको रुसको अन्तरिक्षयान अगस्ट २१ वा २२ मा चन्द्रमामा अवतरण हुने ठानिएको छ ।
भारतीय अन्तरिक्षयान भन्दा केही दिन अगाडी मात्रै अवतरण हुने ठानिएको उक्त अभियान सफल भए रुसले यसमा इतिहास बनाउने छ । त्यो अवस्थामा भारतको चन्द्रयान दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो हुनेछ । यद्यपि भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गर्ने अमेरिका, पूर्व सोभियत युनियन र चीनपछि चौथो देश हुनेछ।