‘केही नेपाल ऐन संशोधन विधेयक’ सच्याउन कांग्रेस तयार हो ?

काठमाडौं । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ गतसाता संसदमा पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक संसदमा पेश गरेका हुन् । तर विधेयकका कतिपय प्रावधानलाई लिएर यसको संसदमा मात्र नभई संसद बाहिर पनि विरोध भएको छ । खासगरी संसदमा रास्वपा, राप्रपा र नेमकिपाका सांसदले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० माथि विरोध जनाएका छन् । संशोधन विधेयकमा हिंसालाई प्रश्रय दिने, राष्ट्रिय अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने प्रकृतिका दफा राखिएको भन्दै आपत्ति जनाएका हुन् । कुनै मान्छेले मान्छे मारेपनि, हत्या गरेपनि, बम पड्काए पनि त्यो व्यक्तिले म राजनीतिक दलको मान्छे हो, म वार्तामा आउन चाहन्छु, मेरा सबै मुद्दा फिर्ता लिनुपर्छ भन्दा मुद्दा फिर्ता लिने र हिंसालाई वैधता दिने खालको भएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

उनीहरुले यो विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको बताएका छन् । यो त भयो संसदमा विपक्षी दलको विरोधको कुरा । अहिले एक सातादेखि सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ । सोमबारसम्म केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने काम सकिएर महामन्त्री र उपसभापतिहरुले जवाफ दिइसकेका छन् । अब बुधबार पार्टी सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि बैठक सम्पन्न हुनेछ । केन्द्रीय समिति बैठकमा यो विधेयकको कांग्रेस नेताहरुले पनि विरोध गरेका छन् ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक–२०८०’ तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।’

त्यस्तै महामन्त्री गगन थापाले पनि कांग्रेस सम्मिलत सरकारले नै ल्याएको भए पनि विधेयकको पक्षमा आफूले संसदमा बोल्न नसक्ने बताए । उनले विधेयकतर्फ सकेत गर्दै भने, ‘गठबन्धन दलमा रहेको कुनै एउटा अमुक दलको अमुक माग पुरा गर्नको लागि गठबन्धन तलमाथि हुन्छ भने भए हुन्छ । कांग्रेसले मान्दैन भनेर स्ट्याण्ड लिन सक्नुपर्थ्यो। भोलिपनि त्यस्तो दिन नआओस् ।’

पार्टीका नेताहरुबाट विधेयकको विरोध भएपछि कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टीलाई अप्ठेरो पर्ने विषय नराखिने बताएका छन् । गुरुङले संसदमा आफूले पेश गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए । उनले भनेका छन्, ‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई नै अप्ठेरो पर्ने ढंगका कुरा परेका छन् भने त्यसलाई राखिन्न, देश र जनतालाई अप्ठेरो पर्ने सिंगो नेपाली राजनीतिलाई अप्ठेरो पर्ने विषय परेका छन् भने त्यसलाई राखिन्न ।’

उपसभापति गुरुङले कानुनमन्त्रीको हैसियतमा आफूले विधेयक प्रतिनिधिसभामा दर्ता गरेको भन्दैमा त्यसमा भएका सबै विषयमा सहमति रहेको भन्न नमिल्ने बताए । उनले भने, ‘म नेपाल सरकारको भरिया जस्तो भएर विधेयकको भारी बोकेर संसदमा राखिदिएँ, फुकालेर हेर्दा अलिअलि बियाँ पनि देखियो, भुस पनि देखियो । भात खाँदा गासमा ढुंगा पर्यो भने ढुंगासहितको गास सुलुक्क निलिहाल्छ भन्ने नठान्नुस् । मुखमा राखेको गासमा ढुंगा पर्यो भने निल्दैन गुरुङले, ओकलेर फाल्दिन्छ । यो विधेयकको सन्दर्भमा जे कुरा उठेको छ नि त्यही हो ठ्याक्कै ।’ प्रमुख सत्तारुढ दलभित्रबाटै यत्रो विरोध भएपछि कानुनमन्त्री पनि विधेयक सच्याउनु पर्ने पक्षमा देखिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । अब विधेयकमाथि संसदमा छलफल सुरु हुन्छ । कांग्रेसका नेताहरुले भनेझैं के यो विधेयक सच्चिएर पारित होला कि हुबहु ? विधेयक सच्याउन कांग्रेसले कस्तो भूमिका खेल्छ, यो कांग्रेसका लागि परीक्षा हो ।
यस्ता छन् विधेयकमा आपत्तिजनक प्रावधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *