गण्डकी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताए ।
“कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभइ दशेकै गौरव हो, यसको प्रवद्र्धन र विकास गरेर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने ।
पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी गरेको बताए ।
गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि २५ लाख विनियोजन गरेको उनले बताए । त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि पाँच लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
अन्नपूर्ण दोस्रो र चांैथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् ।
कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ ।
स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् ।
सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।
पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस—कफुचेलाई नयाँ पदमार्गका रुपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए ।
त्यस क्षेत्रमा सन् २००७/८ सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवद्र्धन गरेको भन्दै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हुँदै क्होलासोँथर निस्कने पदमार्गको प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको बताए ।
“कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने, “पदमार्ग क्षेत्रको प्रवद्र्धन , विकास सँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै तहको साथ र सहयोग आवश्यक छ ।”