काठमाडौँ । नेपाल भलिबल संघको आयोजनमा काठमाडौंमा आजबाट सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग-२०८० सुरु भएको छ । शनिबार बिहानबाट शुरु भएको लिगको उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच लिगको उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको पहिलो दिनमा तीनै विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब विजयी भएका छन् । महिलातर्फ भएको पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो ।
यस्तै पूरुषतर्फ भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो ।
अर्को रोमान्चक बनेको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि संघर्षपूर्ण जीत निकालेको हो । पुलिसले २५-२१, २५-१६, १३-२५, २४-२६ र १५-१० को सेटमा जित हात पारेको हो ।
प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब-काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ र शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब-रामेछाप सहभागी छन् । यस्तै महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब-बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरूको सहभागिता रहेको छ ।
लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।