काठमाडौं । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।
सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेले जानकारी दिइन् । साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सात वटै प्रदेशमा वितरण गरिसकिएको छ ।
विभिन्न जिल्लामा एक लाख ८० हजार एक सय २२ पशुमा खोप कार्य सम्पन्न भएको विभागको तथ्याङ्क छ । महानिर्देशक काफ्लेका अनुसार यस रोगको उपचार विधि र यसबारे बारम्बार सोधिने प्रश्नउत्तरको सङ्गालो तयार गरी विभागको वेबसाइटसमेतमा राखिएको छ । प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको छ ।
यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घटने छालामा गोली गिर्खा देखिने, र्याल, सिँगान बग्ने, दुधालु र गर्भिणी गाइभैँसीलाई असर गर्छ । नेपालमा यो रोग पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईमा देखा परी हालसम्म ७६ जिल्लामा यो रोग पुष्टि भएको छ ।