काठमाडौं । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसँग छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघको दोश्रो सातापछि आयोजना गर्ने, तत्कालका लागि प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने, उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा सहमति भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव इमनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, खुला विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।