काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ’पोलिटिकल स्टन्ट’ मात्रै भएको बताएका छन् । शुक्रबार स्ववियू काउन्सिलको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले ललिता निवास प्रकरण देशलाई अलमल पार्न छरिएको भ्रम मात्र भएको बताएका हुन् ।
उनले भने,’यसमा पर्ने पनि गठबन्धनकै नेता हुुन् । यो भ्रष्टाचार विरोधी देखिने पोलिटिकल स्टन्ट मात्रै हो । ललिता निवास प्रकरणको छानविन गरौं। यसमा जो जो दोषी छन् सबैलाई कारबाही गरौं। को को दोषी छन् ? सबै कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।’
उनले सत्ता गठबन्धनले सत्ता स्वार्थका लागि मनपरी गरेको आरोप लगाए । अध्यक्ष ओलीले प्रीतम सिंह दिल्ली नै नगएको भन्दै उनलाई बेकारमा मुछेर प्रधानमन्त्रीले झुट बोलकोे आरोप लगाए । उनले आफूहरूले राजीनामा माग्दा सत्ता गठबन्धनले संसदमा नै सामना गर्ने भनेको भन्दै आश्चर्य व्यक्त गरे ।
उनले भने, ‘उहाँहरूले वार्ता गछौँ, समस्या समाधान गछौँ भन्नुभएन । संसदमा सामना गरिन्छ भन्नुभयो ।’उनले एमाले संसदमा मात्रै नभई जहाँ बोलाए त्यही जाने बताए ।
उनले भने,’सत्ता पक्ष संसदमा मात्रै होइन जहाँ भन्छ त्यहाँ हामी तयार छौँ । स्पष्ट तोकेर बोलाए हुन्छ । त्यहाँ हामी पुग्न तयार छौँ ।’ उनले सत्ता गठबन्धनले बर्थ डे केक काटेझैं राष्ट्रका हित काटकुट पारेर, बाँडेर सरकार बनाउने र टिकाउने बहुतै घिनलाग्दो खेल खेलिरहेको आरोप लगाए ।