रुस सरकारको नियन्त्रणमा रहेका टेलिभिजन च्यानलहरूले सैन्य विद्रोहको असफल प्रयास गरेका वाग्नर प्रमुख येभेग्नी प्रिगोजिनको तेजोबध गर्न खोजेको जस्तो देखिने अभियान सुरु गरेका छन् । त्यहाँका प्रमुख च्यानलहरूले सेन्ट पिटर्स्बर्गस्थित प्रिगोजिनको भव्य निवासमा खानतलासीको क्रममा खिचिएको दाबी गरिएका तस्बिरहरू प्रसारण गर्दै उनको सम्पन्नताले उनमा दुष्प्रभाव पारेको तर्क गरेका छन् ।
उनको आपराधिक पृष्ठभूमि केलाउँदै ती च्यानलहरूले प्रिगोजिन लालचबाट निर्देशित भएको र उनको सम्बन्ध विदेशी गुप्तचरसँग रहेको दाबी गरेका छन् । तर प्रिगोजिनले रुसी सैन्य नेतृत्वबारे निरन्तर गरेको आलोचना र रुसी सेनाले कसरी युक्रेनमा युद्ध गरेको छ भन्ने विषयमा ती च्यानलले केही बोलेका छैनन् ।
रुसको सरकारी संयन्त्रबाट प्रिगोजिनको व्यक्तिगत जीवन र उनको पृष्ठभूमिबारे यति धेरै नकारात्मक तथा हानिकारक विवरण प्रसारित भएको यो पहिलो पटक हो । केही समयअघिसम्म पनि रुसी टेलिभिजनहरूले भाडाका सैनिकहरूको समूह वाग्नरलाई सकारात्मक ढङ्गले प्रस्तुत गरिरहेका थिए । प्रिगोजिनले नेतृत्व गरेको निजी सैन्य समूह युक्रेन आक्रमणमा रुसको सरकारी सेनासँग मिलेर युद्ध लडेको थियो ।
प्रिगोजिनको घरभित्र खिचिएको भनिएका तस्बिरहरू पहिलो पटक बुधवार सरकारी टेलिभिजन नेटवर्क रोसिया–वनले प्रसारण गरेको थियो । टेलिभिजनहरूमा प्रसारित दृश्यमा नगदको थुप्रो, विभिन्न प्रकारका हातहतियार, घरभित्रको विलासी सजावट र फराकिला बगैँचाहरू तथा उनको घरबाहिर रोकिएको हेलिकप्टर पनि देखिन्छ । विभिन्न किसिमका नक्कली कपाल र प्रेगोजिनका लागि फरकफरक नाममा जारी गरिएका नक्कली राहदानीका दृश्य पनि टेलिभिजनबाट प्रसारण गरिएको छ ।