कोशी प्रदेशमा सरकार गठनप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि

काठमाडौं । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर सत्तारुढ दलनै असन्तुष्ट भएका छन् । सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पुर्याएपछि सत्तारुढ दलबाटै यसको आलोचना भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस कदमलाई संविधान र लोकतन्त्र विरोधी हर्कतको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘हिजो केपी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ; अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं ! आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नम्बर प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही.?’

नेपाली कांग्रेसका नेता डा. डा. शेखर कोइरालाले पनि सरकार गठनमा सभामुखलार्ई गणना गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले यो कार्य संविधानसम्मत नभएको बताएका छन् । कोइरालाले भनेका छन्, ‘प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ । प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संवैधानिक व्याख्या छैन। तर सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरीत हुन जान्छ। सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।’

माओवादी केन्द्रभित्र पनि सभामुखलाई जोडेर संख्या पुर्याएको भन्दै असन्तुष्टि देखिएको छ । सभामुखको हस्ताक्षरप्रति असन्तुष्ट जनाउँदै माओवादीका प्रदेश कमिटी सचिव समेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले लेखेका छन्, ‘हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरेको सत्ता लिप्सामा आशक्त भएकाहरूले।’

सभामुख गौतमको हस्ताक्षरसहित कोशी प्रदेशको मुख्यमन्त्रीमा बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता थापा नियुक्त भएका छन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *