केशवप्रसाद भट्टराई ।
अमेरिका र चीन वीच सम्बन्ध सुधार भएपछि फेब्रुअरी १५, १९७२ मा त्यहाँको विदेश मन्त्रालयको एउटा अभिलेखमा उल्लेख भए अनुसार–अमेरिकाले विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भारत र भारतीय उपमहाद्वीपका मुलुकहरूका सम्बन्धमा कुनै नीति निर्णय गर्दा चिनियाँ प्रधानमन्त्रीसँग पूर्व परामर्श गर्ने र अमेरिकाको त्यस्तो नीति चीनकै नीति अनुरूप हुने आश्वासन तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईलाई दिएका थिए । २०६२–६३को आन्दोलन को क्रममा भारतको नेपाल नीति नै अमेरिकाको नेपाल नीति बन्यो । तत्कालीन नेपाल सरकारको चीन नीतिले अमेरिकाको नेपाल नीति भारत नीतिसँग आवद्ध गर्न प्रेरित गरेको थियो ।
दोस्रो कुरा, असंलग्न परराष्ट्र नीति भनेको एउटा विचारहीन, नीतिहीन र सिद्धान्तहीन नीति हो । मुलुकको वस्तुगत आवश्यकतामा आधारित यथार्थवादी नीति होइन –असंलग्न परराष्ट्र नीति ।
तेस्रो भनौं मुलुकका हित र स्वार्थहरुपो स्थायी हुन्छन्–मुलुकको वाह्य वा अन्तर्राष्ट्रिय परिवेश त स्थायी हुन्न । विश्व व्यवस्थामा शक्ति सन्तुलनको अवस्थामा परिवर्तन भैरहन्छ भने परराष्ट्र नीति स्थीर र स्थायी हुन सक्दैन ।
मैले बारम्बार भन्दै भन्दै आएको र लेख्दै आएको हो नेपालको राजनीतिक अस्थीरता र संकटको स्रोत नेपाल भित्र छैन । नेपालमा राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तनका कारक, प्रेरक र निर्णायक शक्ति पनि नेपाल भित्र छैनन् । नेपालले आफ्नो राजनीतिक स्थीरता र आर्थिक विकासको लागि परराष्ट्र नीतिमा परिवर्तन गर्नु पर्दछ । आफ्ना राजनीतिक महत्वाकांक्षा र सत्ता स्वार्थकालागि भारत, चीन र अमेरिकासँग सम्बन्धमा राजा महेन्द्रदेखि राजा ज्ञानेन्द्र सम्म र टंकप्रसाद देखि पुष्पकमल दाहालसम्मले राजनीतिक र रणनीतिक जुवा खेल्ने गरेका छन् र परिणाम नेपाल हो ।
