एक जना प्रहरी अधिकारीले प्रहार गरेको गोली लागेर एक किशोरको मृत्यु भएपछि फ्रान्सेली सहर मार्सेमा जारी विरोध प्रदर्शनको पाँचौँ रात प्रहरी र दङ्गाकारीहरूबीच झडप भएको छ ।
सार्वजनिक भएका भिडियोहरूमा प्रहरीले दङ्गा नियन्त्रणका लागि अश्रु ग्यासको प्रयोग गरेको देखिन्छ। अधिकारीहरूका अनुसार यस दक्षिणी सहरबाट मात्रै थप ५६ जना पक्राउ परेका छन् । मध्य पेरिसमा भने उल्लेखनीय सङ्ख्यामा प्रहरी तैनाथ भएकाले विरोध प्रदर्शन केही निरुत्साहित भएको बताइएको छ ।
पेरिस नजिकैको उपनगर नान्तेरमा भएको हत्यापछि फ्रान्सका धेरै सहरहरूमा मङ्गलवारदेखि अशान्ति फैलिएको हो । शनिबार पुनः देशभर करिब ४५ हजार प्रहरी परिचालन गरिएको छ।
त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थानीय समयअनुसार आइतवार बिहानको साढे तीन बजेसम्ममा ४८६ जनालाई पक्राउ गरिएको छ । शुक्रबार रातिसम्म १३ सय जनालाई पक्राउ गरिएको थियो भने बिहीबार ९०० जना पक्राउ परेका थिए ।