प्लेअफमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत आज हुने प्लेअफको खेलमा नेपाल र चिरप्रतिद्वन्द्वी युएई भिड्दैछन् । ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा हुने खेल दिउँसो १२:४५ बजे शुरु हुनेछ ।

यसअघिनै छनोटबाट बाहिरिसको नेपाल सातौँ र नवौं स्थानको लागि प्लेअफ खेल्न लागेको हो । नेपाल समूहचरणको चौथो स्थानमा रहँदै बाहिरिएको थियो । समूहचरणको खेलमा नेपाल जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजीत हुँदा अमेरिकालाई हराएको थियो । यता युएई समूह ‘बी’को पुछारमा रहेको थियो । युएईले समूह चरणमा कुनै खेल जित्न सकेन ।

अन्तराष्ट्रिय क्रिकेटमा युएई नेपालको लागि नौलो प्रतिद्वन्द्वी भने होइन । हालसम्म दुवै टोलीले एक आपसमा १४ एकदिवसीय खेल खेलिसकेका छन् । जसमध्ये नेपालले आठ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ । पछिल्लो पटक दुवै टोली नेपालमा भएको एसीसी प्रिमियर कपको फाइनलमा भिडेका थिए । उक्त खेलमा युएईलाई हराउँदै नेपाल एसीसी एसिया कपमा छनोट भएको थियो ।

आजको खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ । शुक्रबार भएको प्लेअफको खेलमा आयरल्याण्डले अमेरिकालाई हराएको थियो । यस्तै पराजीत हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

समूह’ए’बाट सुपर सिक्समा जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स पुगेका थिए भने समूह ‘बी’बाट श्रीलंका, स्कटल्याण्ड र ओमान पुगेका थिए । ६ टोलीबाट शीर्ष दुई स्थानमा रहने टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *