विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रदेशसभा बैठकले विश्वासको मत लिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव अस्वीकृत गरेसँगै सरकार ढलेको हो ।
शुक्रबारको बैठकमा ८९ प्रदेश सभा सदस्य उपस्थित भएकामा कार्कीको पक्षमा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका थिए । अब कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कार्की गत पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
एमालेले यसअघि नै लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा माओवादीसँगको गठबन्धन टुटेपछि केन्द्रमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकारबाट बाहिरियो । त्यसको असर प्रदेशमा पनि पर्यो र अन्ततः एमाले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको हो ।