चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरे २० गैँडा

भरतपुर । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक कारणले ४३ वटा गैँडा मरेका थिए । त्यसयताको वर्षहरूमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २६, ०७७/०७८ मा ३९ र ०७८/०७९ मा ३५ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।

यस आवमा ०७२/०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३/०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चालु आवको माघ महिनामा दुईवटा गैँडा चोरी शिकारीले मारेका थिए । अन्य गैँडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकापसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए ।

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । विगतका वर्षहरूमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षहरूमा यो सङ्ख्यामा कमी आएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा एउटा, २०७७/०७८ मा चार वटा र २०७८/०७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ वटा गैँडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *