दिल होइन दिमाग !

मोहन लामा रुम्बा ।
राजा ज्ञानेन्द्रले गद्दीमा आएपछि मित्रराष्ट्र चीनको हितार्थ सबैभन्दा पहिला लाजिम्पाटमा रहेकोे दलाई लामाको दूतावास ‘गादेन खाङ्सार’ नामको कायालय बन्द गर्न लगाए । सार्क राष्ट्रमा ठूल्दाइको भूमिकामा रहने भारतलाई काउन्टर दिन पर्यवेक्षकको रूपमा चीनको प्रस्ताव अगाडि सारे । एउटा कामले पश्चिमा शक्ति रुष्ट हुन पुगे अर्को कामले छिमेकी भारत । सम्भवतः राजा ज्ञानेन्द्रलाई भीमसेन थापालाई जस्तै आपतकालीन अवस्थामा विशाल चिनियाँ सम्राट साथमा छँदैछ भन्ने भ्रम पो परेको थियो की ? नभए त शक्तिशाली भारत र पश्चिमी शक्तिलाई एकैसाथ ‘नाखुस’ हुने निर्णय त गर्नु नपर्ने हो तर गरे ।

त्यसपछि के भयो ? जगजाहेर छ सबैको अगाडि ! फेरि सोध्नु होला आपतकालमा चीनको भूमिका चाहिं के रह्यो ? त्यो पनि सबैको अगाडि जगजाहेर भएकै छ । चीनले जे निर्णय गर्यो ठिक गर्यो, सबैले आफ्नो देशको ‘हित’ सर्वोपरि राखेर गर्छन् । कुटनीतिमा ‘दिल’ होइन ‘दिमाग’ ले निर्णय गर्छ। चीनले दिमागले काम गर्यो हाम्रो राजा ज्ञानेन्द्रले दिलले काम गरे फरक त्यत्ति भएको हो अरु केही होइन ।
नेपालको आधुनिक इतिहासमा दिमागले कुटनैतिक काम गर्ने दुईवटा शासक हुन्, एउटा राजा महेन्द्र अर्को जंगबहादुर राणा । वास्तविक इतिहास यहाँनेर लुकाएर मात्रै हो अन्यथा राजा महेन्द्र यस्तो कुटनैतिक खेल खेल्ने राजा हुन् की अहिले आदि पुरुषफिल्ममा भाइरल भएको ‘डाइलग’ जस्तो –
‘कपड़ा तेरे बाप का, तेल तेरे बाप का, आग तेरे बाप का, जलेगी भी तेरे बाप की’ ! भनेको जस्तो शुन्य लगानीमा दिमाग लगाएर सबै अन्तर्राष्ट्रिय शक्तिलाई घुमाई दिएको थियो उनको चातुर्यले।

राजा महेन्द्रले सत्ता हत्याएका थिए भारतको सहयोगमा, त्यो पनि भारतीय सेना प्रमुखलाई नै गोप्य रूपमा ल्याएर बिपीको सरकार अपदस्थ गरिएको थियो । जब राजा महेन्द्र सत्तामा आएर शक्ति आर्जन गरेपछि त्यही भारतको नेपालको उत्तरी नाकामा रहेकोे भारतीय चेकपोस्ट हटाएर नेपाल सार्वभौम सम्पन्न मुलुक बनाउने पनि उनै राजा हुन् । अमेरिकाको परियोजना अनुसार खम्पाली बिद्रोहीलाई ‘स्पेस’ दिने पनि राजा महेन्द्र हुन् तिनै राजाले सिभिल पोसाकमा चिनियाँ सेना भित्राएर कोदारी राजमार्ग खनाएर चीनलाई स्पेस दिने पनि तिनै राजा हुन् । र त्यही खम्पालीलाई दमन गर्ने नेपाली सेनाको हतियार पनि त्यही अमेरिकाले दिएको अत्याधुनिक हतियार नै हुन् । यो हो कुटनीति । ‘कपडा तेरे बापका– तेल तेरे बापका आग भि तेरे बापका’!

जंगबहादुर राणाले ‘दिल’ लाई महत्व दिएनन् । उनले पनि दिमाग चलाए । अंग्रेजले चीनदेखि भारत हुँदै पुरै दक्षिण एशिया कब्जा गरिसकेको साम्राज्यवादी शक्तिको अगाडि भीमसेन थापाले जसरी पाखुरा सुर्केको भए बाँकी रहेकोे यो थोरै टुक्रा पनि निमेष भरमा अस्तित्व सकिन्थ्यो ।
जंगबहादुर राणाले आफू भन्दा ठूलो शक्तिलाई रिझाएर नै आफ्नो सार्वभौमसत्ता जोगाउन सकिन्छ भन्ने व्यवहारिक चतुर कुटनीति अपनाए जसले गर्दा युद्धमा गुमाउनुपरेको भूभाग समेत फिर्ता लिएर जंगे पिलर गाडेर चार किल्ला तोकेर त्यो चार किल्ला भित्र कोही अंग्रेज अधिकारी घुस्न नपाउने, हिंडडुल गर्न परे अनुमतिपत्र लिनुपर्ने जस्तो कडा नियम बाँधेर एउटा सार्वभौम मुलुकको पहिचान कायम राख्न सफल भए ।

हावाहुरी तुफानको बीचमा ‘दियोको बत्ती’ जोगाउन तुफानसँग ‘दिल’ दिएर होइन ‘दिमाग’ लगाएर जोगाउन सकिन्छ भन्ने राजा महेन्द्र र जंगबहादुरको चातुर्यपुर्ण कुटनीति नै नेपालको दीर्घकालीन हितमा हुन्छ भन्ने कुरा अहिले झन् झन् टड्कारो रूपमा खट्किदै छ।
जंगबहादुर राणाको उनको उचित मुल्यांकन हुनुपर्छ, उनीबाट भए गरेको कमीकमजोरी अपराध जे जति छ त्यसको पनि यथोचित समीक्षा गर्दै राष्ट्रहितमा उनले पुर्याएको योगदानलाई सम्झिनु हामी सबैको कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *