भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ ।

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताए ।

उनले भने, “वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीको स्रोतका रूपमा लिने गरेका हौँ ।”

कठिन भिरपहरामा भिरमाहुरीको सिकार गरेर सङ्कलन गरिएको मह बेचेर  गाउँका युवाले राम्रो आम्दानी गर्ने गरेको स्थानीय युवा अङ्कित पुनले बताए । उनका अनुसार भिरमह प्रतिलिटर दुई हजार रुपियाँमा बिक्री  हुने गरेको छ । भिरपहराबाट महको सिकार गर्नु निकै साहसिलो काम मानिन्छ । अचेल  नयाँ पुस्ताले चासो नदिएपछि यो परम्परा हराउँदै गएको छ । पाका पुस्ताबाट केही युवाले भिरमहको सिकार गर्ने सिप सिकेकाले अहिले पनि गाउँघरमा मह सिकार गर्ने प्रचलन जीवित रहेको वडा सदस्य छन्त्यालले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *