खप्तड क्षेत्रमा बाबा रामदेवको योग

बझाङ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको अवसरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले योग गराउने भएका हुन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सो कार्यक्रममा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण विशेष अतिथिका रूपमा सहभागी थिए । मंगलबार बाबा रामदेवले र बाँकी दुई दिन आचार्य बालकृष्णले योग सिकाउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी गराए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको थप विकासका लागि सरकारले बृहत् कार्ययोजना तयार गरेर अगाडि बढ्ने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको प्रथम खप्तड आध्यात्मिक सम्मेल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड सुदूरपश्चिम प्रदेश सरकारको मात्र नभएर नेपालकै अलौकिक भूमि भएको धारणा राखे । उनले खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यका लागि योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्यको सहयोगको अपेक्षा गरे ।

प्रधानमन्त्री प्रचण्डको कुरा सुनिसकेपछि योग गुरु रामदेव बाबाले खप्तडलाई धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुड्क्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिनेछन् ।

के छ खप्तड क्षेत्रको विशेषता ?
सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलका रूपमा चिनिने खप्तड राष्ट्रिय निकुञ्ज चारवटा पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको संगम स्थल हो ।

२०४२ सालमा घोषणा गरिएको खप्तड राष्ट्रिय निकुञ्ज २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्छ । यस निकुञ्जमा सल्ला, खसुर र निगालोका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुरका साथै डाँफे, मुनालजस्ता चराचुरुंगीहरू पाइन्छन् ।

समुद्र सतहबाट २ हजार ४ सयदेखि ३ हजार ७ सय मिटरसम्मको उचाइमा रहेको यस क्षेत्रभित्र त्रिवेणी धाम, सहस्र लिंग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, खप्तड दह, डाँफेकोट, गणेश पाटन, नागढुंगा, छत्रेपानी आदि आकर्षक गन्तव्य छन् । यसका अलावा यस क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता (रूखका थुम्का) रहेका छन् ।

प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्रमा गंगा दसहरा मेला र जनैपूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध रहेको छ । यहाँको मौसम सामान्यतया चिसो हुने गर्छ । त्यसैले, चैतदेखि असार मसान्त यस क्षेत्रको भ्रमण गर्नु निकै नै राम्रो मानिन्छ ।

कसरी पुग्ने खप्तड ?

खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग र सेती राजमार्ग हुँदै ७ घण्टामा बझाङको सदरमुकाम चैनपुरनजिकै रहेको तमैल बजार पुगिन्छ । त्यहाँबाट जिपको सहारामा १ घण्टा ३० मिनेटमा कालुखेत हँुदै दारुगाउँसम्म पुग्न सकिन्छ । त्यहाँबाट छान्ना लोहखडा हुँदै करिब ३ घण्टाको पैदल यात्रापछि खप्तड क्षेत्र पुगिन्छ ।

यस बाटोबाट ठूलाठुला गाउँ र त्यहाँको रहनसहन अवलोकन गर्दै शीतल र फराकिला बाटा हुँदै ठूलाठुला पाटनको रमाइलो लिन सकिन्छ । साथै, यसै बाटोबाट त्रिवेणी धामसम्म पुग्न सकिन्छ ।

यसका अलावा अर्को बाटोबाट पनि खप्तड पुग्न सकिन्छ । कैलाली जिल्लाको अत्तरियाको बाटो भएर महाकाली राजमार्ग र सेती राजमार्ग हुँदैजाँदा ७ घण्टामा डोटीको सदरमुकाम सिलगढी पुग्न सकिन्छ । सिलगढीबाट दुईपीपल, झिग्रानासम्म मोटरमा पुग्न सकिन्छ र झिग्रानाबाट गोरेटो बाटो पैदल हिँड्दै खप्तड क्षेत्र पुगिन्छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *