काठमाडौं । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले फरकफरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको बताएको छ ।
गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत उसले सर्कुलर गरेको हो । एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन् ।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् । एमालेले यसपटक सहइन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिएका छन्। सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन् । बिन्दा पाण्डेले अर्थ तथा योजना विभागको प्रमुखको भूमिका पाउँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज तोकिएका छन् ।
कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख बनेका छन्। थममाया थापा कास्कीको इन्चार्ज बनेकी छिन्। शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनाइएका छन् । शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज बनेकी छिन्।