ए डिभिजन लिगमा आर्मी र पुलिस बराबरी

 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने स्टेफेन बिनोङले एक गोल थपे ।

यता एपिएफका लागि सनिश श्रेष्ठले एक सानत्वना गोल फर्काए । खेलको १३ औँ मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।

त्यसैगरी खेलको ५५ औँ मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एपिएफका सनिशले एक गोल फर्काए पनि खुमलटार ३–१ ले विजयी भयो । जितसँगै खुमलटारले २५ खेलमा २७ अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा उक्लिएको छ । समान २५ खेल नै खेलको एपिएफ ३० अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

त्यसैगरी सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।

खेलमा सुरुवाती अग्रता भने आर्मीले लियो । खेलको दोस्रो मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै पहिलो अग्रता लिए । आर्मीको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३९ औँ मिनेटमा पुलिसका अहमत हिजाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल एक एक गोलको बराबरीमा सम्पन्न भयो । यस बराबरी खेलसँगै आर्मीले २५ खेलमा ३१ अङ्क जोडेर अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको पुलिस ३८ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *