दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा किसानलाई सहज

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।

दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन भइरहेको छ । दैनिक दुई हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले जनाएको छ ।

यस उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, मागअनुसार घ्यू, एक सय लिटर दही, दुई सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोधन उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिए ।

बिहानै गाउँ वरिपरिका किसान दूधका साना र ठूला क्यान बोकेर सहकारीमा दूध बिक्री गर्न आउँछन् । अहिले यो उनीहरुको दैनिकी नै बनेको छ । सहकारी संस्थामा बिहान झिसमिसेदेखि नै कर्मचारी काममा व्यस्त देखिन्छन् । कोही दूध जोखेर खरिद गर्ने स्थानमा हुन्छन् भने कोही दुग्ध प्रशोधन उद्योगमा काम गरिरहेका हुन्छन् । यहाँ पुग्दा सबैलाई बिहानैदेखि कामको निकै चटारो भएको देख्न सकिन्छ ।

उद्योगमा दही, घ्यू, पनिर, छुर्पी उत्पादनका लागि दूध प्रशोधन गर्ने काम भइरहने सहकारीका व्यवस्थापक शशी लम्सालले बताए । यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको उनले बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई’ हेटौँडाको ५० प्रतिशत अनुदान सहयोगमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि काम सुरु गरिएको थियो । सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी विसं २०७८ माघ २७ गते उद्योग दर्ता गरी विसं २०७९ पुस १३ गतेबाट भवन निर्माणलगायत काम सकेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

भवन निर्माण र उद्योगमा व्यवस्थापनका लागि एकाइबाट  एक करोड सहयोग लिएर काम थालिएको भन्दै थप  डेढ करोड लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहालले जानकारी दिए । “एक हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योग तथा भवनका लागि अनुदान लिएर काम थालिएको हो”, उनले भने ।

सुरुवाती दिनमा यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी सहरसम्म बिक्री गरिरहेको अध्यक्ष दाहालले बताए । उद्योग स्थापनाले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ थियो ।

उद्योगमा उत्पादन भएका सामग्री हेटौँडा, काठमाडौँ, पोखरालगायत सहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार दैनिक यस क्षेत्रका चार सय ५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।

“सहकारीमा तीन सय ४८ जना शेयर सदस्य छन् । यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १३ जनाले रोजगारीसमेत पाएका छन्”, उनले भने । जिल्लामा रहेका दुग्ध सहकारी संस्थामध्ये मनकामना उत्कृष्ट संस्थाका रूपमा पुरस्कृत भएको अध्यक्ष दाहालको भनाइ थियो ।

सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराइएको विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौँडाका आयोजना समन्वय प्रमुख डा विदुरप्रसाद गौतमले बताए ।

सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको उनले बताए । “किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ”, उनले भने ।

पहिले दूध बिक्री नहुने समस्याका कारण ‘मिल्क होलिडे’को मार भोगेका यहाँका किसान उद्योग स्थापनापछि दूध बिक्री नहुने समस्या हटेको बताउँछन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *