नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो ।

यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो ।

रिटमा यी संवैधानिक प्रावधान प्रयोग गरेर कुनै पनि विधेयक प्रमाणीकरण गर्न नसिकने र राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरेको कार्य आधारहीन र अवैधानिक भएको उल्लेख गरिएको छ ।

मन्त्रिपरिषदले निर्णय गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने संवैधानिक प्रावधान नभएको भन्दै रिटमा मन्त्रिपरिषदले संसदको क्षेत्राधिकारमा प्रवेश गरेर संवैधानिक व्यवस्थामाथि प्रहार गरेको दाबी गरिएको छ । ‘तथ्यगत अन्योल र संस्थागत गरिमामा प्रश्न उठ्ने गरी गरिएको प्रमाणीकरण स्वेच्छाचारी छ’ रिटमा भनिएको छ । रिटमा प्रमाणीकरण भएको विधेयक समेत तत्काल कार्यान्वयन नगर्न, नगराउन आदेशको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *