काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जीत निकाल्दा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् । बिहीबार दिउँसो भएको खेलमा पुलिसले न्युरोड टिमलाई १-० गोलले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जीत दिलाउन मोसेस टुमले निर्णायक गोल गरे । जीतसँगै पुलिस २३ खेलबाट ३४ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ । समान खेलबाट २९ अंक जोडेको न्युरोड आठौँ स्थानमा रहेको छ ।
यस्तै आजै भएको अर्को खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पाले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै फ्रेन्ड्स २३ खेलबाट २५ अंक जोड्दै १३ औं स्थानमा रहेको छ । यस्तै शेर्पा समान खेलबाट ३० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।