चीन र भारतद्वारा एकअर्काका पत्रकारलाई प्रवेशाज्ञा दिन रोक

भारत र चीनबीच तनाव गहिरिँदै जाँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएका छन् । अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा यसै साता प्रकाशित विवरण अनुसार हालैका हप्ताहरूमा दुवै देशका सरकारले एकअर्काको मुलुकका पत्रकारको पहुँच पूर्ण रूपमा समाप्त हुने खालका कदम चालेका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई ‘खतरनाक प्रवृत्ति’ भन्दै त्यसले दुई देशको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारहरूको सङ्ख्या १४ बाट घटेर एकमा आएको भन्दै लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीहरूले विभेदको सामना गर्नुपरेको बताएकी छन् ।

यसै महिना भारतले आफ्नो मुलुकमा बाँकी रहेका दुईजना अन्तिम चिनियाँ पत्रकारहरूको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो । त्यसमा चिनियाँ समाचार संस्था सिन्ह्वाका एक र चाइना सेन्ट्रल टेलिभिजनका अर्का पत्रकार थिए । उक्त विवरणमा दाबी गरिएअनुसार भारत र चीनले एक अर्काको देशका पत्रकारलाई आ–आफ्ना मुलुकभित्रको पहुँच लगभग समाप्त गरिदिएका छन्।

उक्त विवरण अनुसार यो वर्षको सुरुवातमा भारतीय सञ्चारमाध्यमहरूका चारजना पत्रकार चीनमा काम गरिरहेका थिए । त्यसमध्ये दुई जनालाई चीनले प्रवेशाज्ञा नदिएको र तेस्रालाई उनले प्राप्त गरेको अनुमतिलाई फिर्ता लिइएको भनिएको थियो । चीनको विदेश मन्त्रालयलकी प्रवक्तालाई यसबारेमा प्रश्न सोधिएपछि उनले भारतले चिनियाँ सञ्चारमाध्यमहरूको वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न यस्तो गर्नुपरेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *