काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

काठमाडौं । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर अघि नबढाउँदा फोहोरको वर्गीकरण गर्ने कार्य नै अलपत्र परेको हो ।

काठमाडौं महानगरपालिकाले गत १ साउन २०७९ मा सूचना सार्वजनिक गर्दै स्रोतमै फोहोरको वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिँदै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । महानगरले सूचना जारी गरेको वर्ष दिन बित्न लाग्दा पनि फोहोर वर्गीकरणको काम सुरुसमेत हुन सकेको छैन ।

महानगरमा नयाँ जनप्रतिनिधि चयनका लागि निर्वाचन हुने क्रममा काठमाडौं उपत्यकाको फोहोर नउठेर दुर्गन्धमय अवस्था रहेको थियो । फोहोरको समस्या समाधानका लागि महानगरको नयाँ नेतृत्वले दीर्घकालीन रूपमा नै फोहोरको समस्या समाधान गर्न स्रोतमै वर्गीकरण गर्ने योजना लिएको थियो ।

तत्कालीन समयमा महानगरदेखि केन्द्र सरकारसम्मको प्रयासमा काठमाडौं उपत्यकाको फोहोरको समस्या समाधान भएको थियो । फोहोर नियमित रूपमा उठ्न थालेसँगै महानगरपालिकाले भने फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बिर्सिएजस्तै भएको छ भने वर्गीकरणको विषयलाई समेत बेवास्ता गरेको पाइएको हो ।

काठमाडौं उपत्यकाको फोहोर समाधान गर्ने विषयमा प्रधानमन्त्री कार्यालयले आह्वान गरेको बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अनुपस्थित हुने गरेका समेत पाइएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा शाह अनुपस्थित थिए ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर आफूहरू फोहोरको वर्गीकरण गरेर लैजाने विषयमा अन्तिम चरणमा रहेको बताउँछन् । ‘फोहोरको वर्गीकरण त नगरी हुँदैन, अब करिबकरिब लागू गरेर जाने अन्तिम तयारी गरिहेका छौं, यस विषयमा महानगर गम्भीर भएर लागेको छ,’ उनले राजधानीसँग भने ।

महानगरपालिकाले यसअघि ठाउँ अभावका कारण फोहोरको वर्गीकरण गर्न नसकिएको जनाउँदै आएको थियो । प्रवक्ता मानन्धरले वर्गीकरणको काम सुरुवात गरेर जाने क्रममा ठाउँको समस्या नहुने आफूहरूलाई लागेको बताएका छन् ।

यसअघि, नुवाकोट र धादिङको बञ्चरेडाँडा तथा सिसडोलका बासिन्दासँग फोहोरको वर्गीकरण गर्ने, सडक बाटोको निर्माण तथा मर्मतलगायतका विषयमा समझदारीपछि फोहोर बिसर्जन सहज रूपमा हुँदै आएको छ ।

तर, स्थानीयको अवरोध हटेसँगै सरकारी निकायहरूले आफ्नो कर्तव्य भुल्ने गरेकाले पुनः काठमाडौंको फोहोर उठ्नेमा समस्या आउने खतरा हुने गरेको छ । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा बिसर्जन हुँदै आएको छ ।

त्यसमध्ये सबैभन्दा बढी महानगरको ५ सय मेट्रिक टन फोहोर जान्छ । निजी क्षेत्रबाट २ सय गाडीले फोहर ओसार्दै आएका छन् । काठमाडौं उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालिएको हो ।

सबै किसिमका फोहोर बञ्चरेडाँडा पु-याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको छ । स्थानीयको अवरोधका कारण गत वर्षको साउनमा तीन साता बढी समय काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको थियो । वैशाख र जेठमा पनि लामो समय फोहोर उठाउन बन्द हुँदा काठमाडौं दुर्गन्धित बनेको थियो ।

जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्ट्याउने र कुहिने फोहोरलाई मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने, सडकको स्तरोन्नति गरिनुपर्ने जस्ता माग राख्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।

स्थानीयका माग सम्बोधन गर्नेमा सरकार सकारात्मक देखिएपछि पछिल्लोपटक सहमति जुटेसँगै निर्वाध रूपमा फोहोर व्यवस्थापन हुँदै आएको छ । विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत स्थानको फोहोर फालिँदै आएकामा सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट र धादिङ सिमानामा रहेको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आएको छ ।

सो ल्यान्डफिल ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बञ्चरेडाँडामा नै फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *