काठमाडौं मध्यम गतिका बलर आकाश मधवालले घातक बलिंङ गरेपछि मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग(आईपीएल) को क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा लखनउ सुपर जायान्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले क्वालिफायरमा गुजरातसँग भेट पक्का गरेको हो ।
जीतको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमै १ सय १ रनमा अलआउट भयो । लखनउको लागि मार्कुस स्टोइनिस बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । स्टोइनिसले २७ बलमा ५ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए । यस्तै केल मायार्सले १८ र दिपक होडाले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
मुम्बईको लागि आकाश मधवालले ३.३ ओभरमा मात्र ५ रन दिएर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाको नाममा एक-एक विकेट रह्यो ।
यसअघि चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । मुम्बईको लागि केमरोन गरिनले ४१, सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६,नेहाल वाधेराले २३, इशान किसानले १५, टिम डेभिडले १३ र रोहित शर्माले ११ रन बनाए ।
लखनउको लागि नाभिन उल हाकले ४ ओभरमा ३८ रन दिएर ४ विकेट लिए । यस्तै याश ठाकुरले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिंदा मोहसिन खानले एक विकेट लिए ।
जीतसँगै मुम्बई क्वालिफायरमा पुग्दा पराजीत लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । अब मुम्बईले फाइनल प्रवेशको लागि गुजरात टाइटान्सको सामना गर्नेछ ।