काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पार्टीका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरे । प्रधानमन्त्री र ओलीबीच भित्र कुरा के भयो उनीहरु नै जाननु । तर भेटपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै ओलीले पूर्वउपप्रधानमन्त्री र बहालवाला सांसदविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाए । त्यतिबेला ओली रायमाझीलाई अझ एमालेलाई फसाउन खोजिएको भन्दै आक्रोसित पनि देखिन्थे । प्रधानमन्त्रीसँगको पहिलो भेटमा ओलीले रायमाझी आफ्नो सम्पर्कमा रहेको र अनुसन्धानमा सघाउने बताएका थिए । यसपछि प्रधानमन्त्री, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लगातार भेटवार्ता भइरहे । प्रधानमन्त्रीसँगको दोस्रो भेटपछि भने एमाले अध्यक्ष ओलीको अलि नरम रुपमा प्रस्तुत भए । यसअघि रायमाझी आफ्नो सम्पर्कमा रहेको बताएका ओलीले प्रधानमन्त्रीसँगको दोस्रो भेटपछि भने पत्रकारहरुलाई रायमाझीकाबारेमा अनभिज्ञता प्रकट गर्दै पत्रकारहरुलाई नै खोज्न आग्रह गरे ।
यस प्रकरणमा पार्टी सचिव, उनका छोरा, अख्तियार प्रमुख प्रेमकुमार राईको नाम समेत जोडिएर आएपछि ओली र एमालेका नेता कार्यकर्ताले निरन्तर प्रतिवाद गरे र गरिरहेका छन् । एमाले अध्यक्ष ओलीले संसद बैठकमा यसबारे खुलासा गर्ने बताए । अनि पार्टीका विभिन्न कार्यक्रममा दैनिक एमालेजन र अध्यक्ष ओलीले एमालेलाई फसाउन खोजिँदैछ भन्ने प्रतिवाद गरिरहे । यस प्रकरणमा एमाले मात्र होइन कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका छन् । खाँणलाई पार्टीले निलम्बन चाहिँ गरेको छैन । तर अनुसन्धानमा सघाउनुपर्ने भन्दै केही बोेलेको छैन अर्थात् खाँणको प्रतिरक्षा गरेको छैन । नक्कली शरणार्थी प्रकरणमा सामाजिक संजालमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँणकी पत्नी तथा सांसद मञ्ज खाँणको नाम पनि आयो । आरजुको नाम लिएर अडियो सार्वजनिक भएपछि उनले यसबारे अनुसन्धान गर्न प्रहरीमा निवेदनसमेत दिएकी छन् । र उनले संसंदबाटै आफू यसमा संलग्न नभएको र आफूमाथि अनुसन्धान गर्न चुनौती दिइन् । तर नेकपा एमालेले आरजु र मञ्जुमाथि छानबिन गर्नुपर्ने भन्दै दैनिकजसो संसद तताउने काम गरे ।
यसबीचमा टोपबहादुर पक्राउ परे । अन्तिमसम्म आइपुग्दा भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत पक्राउ परेका छन् । एमाले अध्यक्ष ओलीले आइतबार संसद बैठकमा सम्बोधन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै नाजायज काम नभएको दाबी गरे । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिँदैछ ।’ उनले आफ्नो पार्टी अपराधी नउम्किने र निर्दाेष कोही नफसोस् भन्ने पक्षमा रहेको बताए । प्रहरीले मुद्दाको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि आरोपीको बयान विभिन्न संचारमाध्यममा सार्वजनिक भएका छन् । जसमा आरोपीले एमालेका धेरै नेतामाथि पोलेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालको बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमै ३ करोड रुपैयाँ दिएको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्यलाई १ करोड रुपैयाँ दिएको, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई १ करोड रुपैयाँ दिएको उल्लेख छ ।
दुलालको बयान सार्वजनिक भएपछि एमाले नेताहरु झनै आक्रोसित भएका छन् । उनीहरुले यस अनुसन्धानलाई नक्कली भनेका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘काँक्राचोरले काँक्रा आफुले खाएर वियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’ त्यस्तै एमाले नेता महेश बस्नेतले दुलालको बयान एमाले नेता फसाउन डिजाइन गरिएको दाबी गरेका छन् ।
दुलालको बयानमा पोलिनेमा सबै एमाले छन् । तर एमाले त्यसलाई मान्न तयार छैन । त्यसो भए ६० दिन लगाएर प्रहरीले गरेको अनुसन्धान एमालेलाई फसाउनकै लागि थियो त ?
