चीनबाट आयात भएपछि यो वर्ष युरिया मलको अभाव नहुने

काठमाडौँ । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेपछि यो वर्ष युरिया मलको अभाव नहुने भएको छ । सिल्क मार्केटले ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालिसकेकाे छ ।

२५ हजार र १० हजार गरी दुई चरणमाव मल ल्याउने योजना भएकोमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको जानकारी सिन्धुपाल्चोकबाट पत्रकार चित्र मिजारले दिएका छन् ।

सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिएका छन् । उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन सिल्कले कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै भण्डाररत छ । केही दिनमा सिगात्सेको मल पनि तातोपानी भन्सारमा भित्रने छ ।

गत वर्ष सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो । उक्त परिणामका युरिया मल किसानले खेतीबालीमा प्रयोग गरिसकेका छन् ।

खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्‍याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *