हामी कहाँ चुक्यौं ? आत्मसमीक्षा गरौं

मोहन लामा रुम्बा ।
बेलायतका राजा चार्ल्स तृतीयलाई एकजना क्रिश्चियन धर्म गुरु पास्टर आर्चविशपले श्रीपेच लगाएर राज्यभिषेक गरियो । अब राजा चार्ल्स तृतीय चर्च अफ इङ्ग्ल्याण्डको प्रमुख मात्रै होइन बेलायतसहित अन्य १५ वटा प्रोटेस्टेण्ट क्रिश्चियन देशको पनि राजा भए । विश्वबाट उक्त समारोहमा सहभागी हुन पाहुनाहरु पुगे । नेपालको गणतन्त्र सरकारले पनि प्रतिनिधि पठायो । त्यही बेलायत जुन बेलायतले आफू क्रिश्चियन धर्मको संरक्षक भनेर शपथ लिन्छ अनि त्यही बेलायतले दक्षिण एसियाली मुलुकमा ‘धर्म भनेको राज्यको हुँदैन’ ‘धर्म भनेको व्यक्तिको निजी विषय हो’ ‘धर्म निरपेक्ष मुलुक घोषणा गर’ भन्दै नेपालमा वैचारिक ‘आइडोलोजी’ लाई प्रोत्साहित गर्दै एउटा क्याम्पेन चलाएर माहोल तयार गर्छ ।

त्यही बेलायत हो २०४७ सालमा संविधान बनाउँदै गरेको बेला बेलायतबाट सांसदहरूको एक प्रतिनिधि टोली नै आएर अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेटेर नेपालको संविधानमा ‘धर्म निरपेक्ष’ राखेर जारी गर्नुपर्ने भन्दै दबाब दिन आएको थियो ।त्यही बेलायत हो २०७२ मा संविधान जारी गर्नु अगाडि बेलायती राजदूतले ‘धर्म निरपेक्ष’ घोषणा गर भन्दै दूतावासबाट सार्वजनिक विज्ञप्ति मात्रै होइन ‘अनुदान’ नै रोकिदिने भन्दै धम्की पनि दिएर ‘धर्म निरपेक्ष’ घोषणा गर्न दबाब दिएको थियो ।

‘धर्म निरपेक्ष’ को माहौल तयार गर्न अमेरिकी नागरिक जर्ज सोरसले त १० करोड डलर नेपाली मिडियामा दिएको आफ्नो वेबसाइटमा राखेर सार्वजनिक नै गरिदिए भने त्यस्ता पैसाको खोला बगाउने विदेशी ५०० भन्दा बढी संस्था कृयाशील थिए तिनीहरुले कति अर्ब बाँडे होलान् धर्म निरपेक्ष घोषणा गराउन ?

२०४७ कै संविधानमा घोषणा गराउन नसकेको धर्म निरपेक्ष २०७२ मा आएर गराउन सफल भयो ।त्यसपछि के भयो ? उपलब्धि कसले लियो ? फल प्राप्त कसले गर्यो ? बौद्ध धर्मले फल प्राप्त गर्यो ? किराँतले गर्यो ? बोनले गर्यो ? फाइदा कसलाई भयो ? त्यतिबेला जनजाती आदिवासीको नाउँमा धर्म निरपेक्ष घोषणा गर ! घोषणा गर !! भन्दै उफ्रिनेहरुले यो घोषणा गरेपछिको उपलब्धि जनसमुदायलाई देखाउन सक्छौ ? सक्दैन । किनभने आज सर्वसाधारणले पनि बुझ्न थालिसकेका छन् की यही पाराले गयो भने त हाम्रो बौद्ध धर्म सकिने पो भयो भन्न थालिसकेको छ। नेपालबाट राजा किन फालिएको थियो ? हिन्दुराज्य किन फालिएको थियो ? त्यो फाल्न अन्तर्राष्ट्रिय प्रत्यक्ष अप्रत्यक्ष दबाबमा काम किन भैरहेको थियो ? भनेर अब एक छिन थचक्क बसेर हामी सबैले एकपटक निर्मम भएर समीक्षा गरौं । म राजावादी म माओवादी म प्रजातन्त्रवादी म हिन्दू म बौद्ध म यो जात उ जात भन्ने सबै प्रकारको चिन्तन धाराबाट माथि उठेर नेपाली मात्र भएर एकपटक सोचौं त ? आत्मा मन्थन गरौं त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *