आठौँ पत्रकारिता दिवस मनाइँदैः प्रधानमन्त्री, सभामुखबाट शुभकामना

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ ।

सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको आयोजना गरेको छ ।

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, “आज वैशाख २४ गते आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आमजनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु, नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस्, यही शुभकामना ।”

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछुः सभामुख

सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौँ राष्ट्रि«य पत्रकारिता दिवस २०८० को अवसरमा आम श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्तितसमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “समाचारमूलक पहिलो पत्रिका गोरखापत्र प्रकाशनको अवसर पारेर सुरु गरिएको राष्ट्रि«य पत्रकारिता दिवस आम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीका लागि आफ्नै राष्ट्रिय पर्वका रुपमा विकास हुन् सकोस् भन्ने कामना पनि गर्दछु ।”

उनले राष्ट्रि«य पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताको जीउँदो इतिहास गोरखापत्रलाई १२३औँ स्थापना दिवसको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय भएको बताउँदै सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाका कारण संविधानमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको पुनः स्मरण गराएका छन्

“आम रुपमा नेपाली पत्रकारिता क्षेत्रले समाजका बेथिति, विसङ्गति तथा विकास, सुशासन र समृद्धिका पक्षमा खेलेको भूमिका बिर्सन सकिँदैन, द्वन्द्व, आन्दोलन, प्राकृतिक विपत्, महामारीका बीचमा पनि नेपाली पत्रकारले सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ”, सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *