काठमाडौं । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा उच्च राजनीतिक नेतृत्व र उच्च प्रशासक संलग्न भएको पाइएको छ । यो प्रकरणमा संलग्न भएको आरोपमा नेपाल सरकारका बहालवाला सचिव पक्राउ परिसकेका छन् भने उपप्रधानमन्त्री भएको व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै नेताका छोरा पक्राउ परेका छन् केही नेताका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएका छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् । प्रहरीले यस प्रकरणमा अझै १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा हालसम्म एक सय ६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।
यस घटनामा एमाले सचिव रायमाझी जोडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै बहालवाला सांसदविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । यतिसम्मकी ओलीले बदलाको भावले नाम मुछिएको भए चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् । ओलीको यो अभिव्यक्तिपछि घटना राजनीतिक मिलेमतोमा सामसुम पार्ने प्रयास हुनसक्ने भन्दै खबरदारी गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
संविधानविद् डा. भीमार्जु आचार्यले शक्तिशालीप्रति अनुसन्धान उदासिन हुनसक्ने भन्दै खबरदारी गर्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘नक्कली शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय हो । देश कसरी र कस्ताबाट संचालित छ, यसले यसपटक राम्रैसँग उजागर गर्यो । शक्तिशालीहरूप्रति अनुसन्धान उदासिन हुन सक्छ। खबरदारी गरौं ।’
त्यस्तै पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डे यो काण्डको छानबिनमा अलिकति पनि लिपपोत हुन नहने बताउँछन् । उनी भन्छन्, ‘देशको सुरक्षा र दुबै छिमेकीको लागि सबैभन्दा संवेदनशील गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक माथिल्लो तह एकसाथ अन्तराष्ट्रिय ठगीमा मुछिएको प्रकरण कुटनीति र सुरक्षाको दृष्टिमा अत्यन्त चिन्तापूर्ण छ । देशविदेशले निगरानी गरिरहेको यो काण्डको छानबिनमा अलिकति पनि लिपपोत नहोस् । हेक्का रहोस्– भारत र चीनलाई दुबैलाई नेपालमा उनीहरुको जायज हित सुरक्षित छ भन्ने विश्वास कमजोर हुँदा महाविपत्ति आउनेछ ।’
राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटा यस्ता सुधारका कामले निरन्तरता पाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘भनिन्छ कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहमा प्रवेशपछिका सुधारहरु प्रशंसनीय छन् । यस्ता सुधारका कार्यक्रमहरुले निरन्तरता पाओस् ।’
नेकपा एमालेका नेता डा. भीम रावल यो प्रकरणमा दोषी उम्काउने प्रपञ्च हुन नहुने बताउँछन् । उनी भन्छन्, ‘तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई समेतले नेपालीहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी ५ करोड ५० लाख खाएको समाचार अत्यन्त गम्भीर छ । गृह मन्त्रालयको संवेदनशील जिम्मेवारीमा रहेकाहरुको यस्तो कार्य राज्य विरुद्धकै गम्भीर अपराध ठहर्छ । यसको गहन अनुसन्धान र छानबिन होस् । कुनैपनि दोषी कारबाहीबाट उम्कने प्रपञ्च कतैबाट नहोस् ।’
नेकपा एमालेका उपमहासचिव यस घटनालाई राजनीतिकरण नगरी अनुसन्धान हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन्, कोही दोषी नउम्किउन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ।’
