देशको अर्थतन्त्र श्रीलङ्कासँग तुलना गर्न योग्य बन्नुमा को-को दोषी ?

नारायण गाउँले ।

रानीको मृत्युमा दिइएको एउटा थप राष्ट्रिय बिदाले उक्त त्रैमासिकमा बेलायतको आर्थिक वृद्धि नै ऋणात्मक बन्यो । कोभिडपछिको अर्थतन्त्र त्यसै शिथिल थियो, एउटा ’पब्लिक होलिडे’ थपिएपछि त्यसमा छिया पर्यो । एक दिनको महत्व त्यस्तो हुने रहेछ ।
हाम्रा दलहरूले हरेकको भागमा २०० भन्दा बढ़ी पर्ने गरी नेपाल बन्द गरेका छन् । विवेकशील नेपालीका नाममा केही युवाहरूले ’नेपाल खुला छ’ भन्दै हस्तक्षेप नगरेको भए आज पनि हाम्रा दलको हतियार नेपाल बन्द नै हुन्थ्यो । सोच्नुस् त, देशको अर्थतन्त्र आज श्रीलङ्कासँग तुलना गर्न योग्य बन्नुमा को दोषी छ ?

अझ तिनले गरेको नेपाल बन्दमा चलाएको आरोपमा हजारौं मोटरसाइकल, साइकल, एम्बुलेन्स र ठेला गाड़ा जलाइए । कति सुत्केरी र बालबच्चाको अस्पताल पुग्न नपाएर मृत्यु भयो । कतिको व्यापार व्यवसाय डुब्यो । कति फोक्सोहरू सड़कमा बालिएका असीमित टायरको विषाक्त धुँवाले काला भए । तिनै दलले आज वैयक्तिक स्वतन्त्रताको कुरा गर्छन् । आफैले त्यो स्वतन्त्रता गोजीबाट झिकेर हामीलाई दिएको जस्तो गर्छन् ।

अझै पनि हेर्नुभो भने कति कलेज र विश्वविद्यालयमा ती दलका विद्यार्थीले लगाएको ताला बाँकी नै होला । तिनले वर्षै भरि तालाबन्दी गर्थे । एक दिन कलेजमा पढ्न नपाई परीक्षा दिन बाध्य कति युवाहरू आज खाड़ी मुलुकमा पसिना बगाउँदै हुनुहुन्छ । आफ्नो गुटको राजनैतिक मागका लागि स्कुल बन्द गर्ने, सड़क बन्द गर्ने, यातायातका साधन जलाउने, एम्बुलेन्समा ढुङ्गा हान्ने, टेलिफोनका टावर उडाउने र सड़कपेटीका रेलिङ् भत्काउने काम तिनको नियमित दैनिकी थियो । रगत बगेको टाउको त पछिसम्म राजनीति गर्ने हतियार नै भयो ।

कसैलाई श्राप दिँदा तेरो घरमा कांग्रेस पसोस् भन्नेसम्मको इतिहास सुन्नुभएकै होला । ४८ सालपछि एमालेका उदण्ड झुण्डको अराजकता बेहोर्नुभएकै होला । माओवादी र खासगरी वाईसिएलका नाममा भएका हिंसात्मक उद्दण्डता त झन् याद नै होला । जबर्जस्ती चन्दा र व्यक्तिका उद्योग र जग्गामाथि झण्डा गाडेर कब्जा गर्ने स्तरको अराजकताका तपाईं हामी साक्षी नै हौँला । एउटा दलले मजदूरको नाम बेचेर उद्योगमा सधैँ ताला ठोक्ने र धराशायी बनाउने अनि अर्कोले निजीकरणका नाममा बेचिदिने गरेको इतिहास पनि ताजै होला ।

क्रान्तिका नाममा पढाउँदा पढाउँदैको शिक्षकलाई क्लासबाट थुतेर ढुङ्गा हानी मारिएन कि, बालबच्चा बोकेको स्कुल बसमा पेट्रोल बम हानिएन कि, पत्रकारहरूलाई विपक्षमा लेखेको भन्दै जिउँदै गाडि़एन कि, मत नमिलेको नाममा जिउँदै मान्छेलाई ईंटाभट्टामा पोलिएन कि, घाइते सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट झिकेर भाला रोपिएन कि, सुराकीको आरोपमा २०–२१ वर्षका कलिला र निहत्था युवाहरूको हत्या गरिएन कि…के सम्म गरिएन भन्ने कुनै लेखा छैन । आज बीस वर्ष हुन लाग्दा समेत तिनले न्याय पाउन सकेका छैनन् ।

आज पनि सरकारी कोषबाट चल्ने स्कुलहरूमा कांग्रेस एमालेको कब्जा छ । घरपायक सरुवा हुन योग्यता र ठेगानाले हुँदैन, पार्टी सदस्यता र पैसा चाहिन्छ । पार्टीको मान्छे नचिन्ने हो भने सरकारी हस्पिटलमा बेड पाइन्न । राम्रो उपचार पाइन्न । छात्रवृत्ति पाइन्न । हामीलाई नजिताए गाउँमा विकास योजना पनि पाइन्न भनेर त तिनले खुलेरै बोलेका छन् । विगत १०–१५ वर्षको राजनीति र त्यसको भाषा शैली हेर्नुभो भने घटियास्तरको गाली, निषेध र वैयक्तिक आक्रमणबाहेक अरू के छ र ? यो विकृति र विसङ्गतिको घाउ पाकेर, कुहेर पीप बनेर बग्ने अवस्थामा जनमानसमा उब्जेको क्षोभ, घृणा र विद्रोहलाई मञ्च दिने काम रवि लामिछानेको पार्टीले गरेको देखियो ।

धेरैलाई रवि लामिछानेको दलमा समेत अराजकता हुर्कँदै गएकोमा दुःख लाग्न सक्छ । आम जनतालाई नयाँ दल सौम्य, सुशील, सभ्य र भद्र भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक पनि हो । तर यो अराजकता विज्ञापन गरिएजस्तो पनि छैन । सोसल मिडियामा, त्यसमा पनि कमेन्टमा यो सीमित छ । ग्राउण्डमा यो दल अराजक छैन । रेलिङ् भाँच्ने, टायर बाल्ने, निजी या सरकारी सम्पत्ति जलाउने, अपहरण गर्ने, लूटपाट र जबरजस्ती चन्दा असुल्ने, स्कुल र कलेजमा ताला ठोक्ने जस्ता क्रियाकलाप भएका छैनन् ।

सोसल मिडियाका गाली पनि तीप्रति लक्षित छन् जसका कारण आज देश श्रीलङ्का बन्ने मोड़मा छ, जसका कारण राजधानी आज विश्वकै प्रदूषित शहर बनेको छ र जसका कारण युवा पुस्ता आफ्नै माटोमा भविष्य नदेखेर खाड़ीमा पसिना बेच्न बाध्य छ । कर्म यस्तै भएपछि मर्म छामेर यति गाली सहनु हाम्रो धर्म हो जस्तो लाग्छ । यति भन्दै गर्दा देशको ठूलै शक्ति बन्दै गरेको नयाँ दललाई अलि सभ्य र सहनशील बनाउनु हामी सबै र स्वयं उक्त दलको समेत कर्तव्य हो भन्नेमा भने दुईमत नरहला !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *