बायर्नमाथि सिटीको शानदार जीत

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जीत निकालेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० गोलले हराउँदै सिटीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन रोड्री, बर्नाडो सिल्भा र इर्लिंङ ब्राउट हालान्डले समान एक-एक गोल गरे । २७ औं मिनेटमा बर्नाडो सिल्भाको पासमा रोड्रीले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ७० औं मिनेटमा हालान्डको क्रसमा बर्नाडोले गोल गर्दा सिटीले खेलमा अग्रता दोब्बर बनाएको थियो ।

यस्तै ७६ औं मिनेटमा स्टोन्सको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो लेगमा ३-० गोलको अग्रता दिलाएका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग २० अप्रिलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *