मोहन लामा रुम्बा ।
माओवादीमा डा. बाबुराम भट्टराईलाई (माओवादी पार्टीले होइन) उहाँ यस्तो विद्वान् ! त्यस्तो विद्वान् !! माओवादी भित्र एकमात्र विद्वान् !! भन्दै मिडियाहरुमा निकै चर्चा गराएर होहल्ला गर्दै ल्याइयो । भूमिगत राजनीतिबाट बाहिर आएपछि बाबुरामले नारा दिए “करको दायरा फराकिलो पार्ने“ सर्पले जसरी घिस्रेर होइन भ्यागुतोले जसरी छलाङ मार्ने भनेर ।यत्रो विद्वान मान्छेले भनेपछि पक्कै हो क्यारे भन्ने भयौं तपाईं हामी सबै । त्यसैले हामी सबैले‘‘ हो ! हो !! भन्न थाल्यौं ।
माओवादीको सरकार बन्यो, उनी पहिलोपटक अर्थमन्त्री भए, करको दायरा फराकिलो पार्ने काम सुरु गरे । हामी जस्तो सर्वसाधारणलाई करको दायरा फराकिलो पार्ने भनेर भन्न खोजेको के हो भन्ने जानकारी हुने कुरा भएन, जब उनी अर्थमन्त्री भैसकेपछि उनले छलाङ अर्थनीति लागु गर्न सुरु गरे त्यसपछि पो बल्ल थाहा भयो कुरा के रहेछ भनेर । करको दायरा फराकिलो पार्ने भन्दै आएको के रहेछ भने एउटा उदाहरण पेश गरौं– तपाईं एउटा होटलमा भात खान जानुभयो, तपाईंले होटलमा भात खाइसकेपछि पैसा तिर्नुहुन्छ ।
करको दायरा विस्तार गर्ने भनेको हिजोसम्म हामीलाई होटलवालाले भात खाएको मात्रै पैसा असुली गरिन्थ्यो भने अब करको दायरा फराकिलो पार्ने भनेको त्यो होटलमा भात खान अगाडि धारामा हात धोएको पैसा, टेबुलमा बस्दाको बसे बापतको पैसा, त्यो होटलमा शौचालय प्रयोग गरेको अतिरिक्त पैसा पनि जोडेर भातको पैसा असुली गर्ने कामलाई ‘करको दायरा फराकिलो’ पार्ने भनेर एजेन्डा उठाएको रहेछ, यस्तो अर्थशास्त्री भाषा हामी बबुरोहरुलाई के थाहा ?
यही करको दायरा फराकिलो पारेपछि बाबुरामको पालामा राज्यको ढुकुटीमा धेरै पैसा जम्मा हुन पुग्यो, अनि त्यसैलाई देखाएर मिडिया टाइकुनहरुले ‘सफल अर्थमन्त्री’भनेर गोदवा दिएर प्रसंसा गर्न लगाए, हामीले पनि बुझ्न न जान्नु हो ‘हो’भन्दै ताली बजायौं।
मिडिया लगायतका हाम्रो देशको तथाकथित बुद्धिजीवीहरुले त्यो पैसा हाम्रो घरेलुु उत्पादनका वस्तुहरु निर्यात बढेर आम्दानी भएर ढुकुटी बढेको हो की अथवा रेमिट्यान्स वृद्धि भएर हो की अथवा जनतालाई कर माथि नयाँ कर थपेर ढुकुटीमा पैसा थुपारेको के हो भनेर भन्दै भनेनन् । हामीलाई सिर्फ ढुकुटी बढ्यो पुँजी जम्मा गर्यो ! ठूलो पैमानको बजेट बनायो भन्ने मात्रै एकहोरो जानकारी दिइयो ।
यथार्थमा त्यो ढुकुटी बढ्नुमा नेपाली जनताको क्रयशक्ति वृद्धि भएर बढेको थिएन, यही नेपाली जनताले हिजोसम्म ‘भात’ खाएको मात्रै राज्यलाई ‘कर’ तिर्दै आइरहेको ठाउँमा बाबुरामले ‘ भात खाएको पनि पैसा, धारामा हात चुटेको पनि पैसा, शौचालयमा छिरेको पनि पैसा, टेबुलमा बसेको पनि पैसा समेत अतिरिक्त कर जोडेर कर असुली गरेर ढुकुटीमा ठूलो रकम जम्मा गरेको थियो।
तर कुनै मिडियाले बारेमा चर्चा गरेनन् । मिडिया यहाँको लेखनदासहरुले एकहोरो रूपमा सफल अर्थमन्त्री ! भयंकर विद्वान् ! ढुकुटीमा पैसा थुप्रियो भन्दै तपाईं हाम्रो मानसपटलमा एकहोरो घुसाइरहे ।
आज बाबुरामले थालेको त्यो ‘करको दायरा फराकिलो’ पार्ने अभियान संस्थागत भैसकेको छ। एउटा सानो उदाहरण हेरौं तपाईं मोटरसाइकलमा पेट्रोल हाल्नुहुन्छ, त्यो पेट्रोल पहिल्यै ट्याक्स जोडेर ल्याएपछि पनि तपाईंले ‘पुर्वाधार कर’ का लागि भन्दै प्रति लिटर १० रुपैयाँ तिर्दै हुनुहुन्छ।
तपाईंले एउटा मोटरसाइकल खरिद गर्नुभयो भने ८० प्रतिशत ट्याक्स तिरेर किन्नु हुन्छ, त्यति तिरेपछि त सकियो नी फेरि त्यसमाथि excise duty भन्दै ६० प्रतिशत कर तिर्नुपर्ने हुन्छ , त्यसपछि भ्याट तिर्नुपर्छ, त्यसपछि आउँछ road development को नाउँमा १० प्रतिशत कर तिर्नुपर्छ, हुँदाहुँदा भारतमा १० रुपैयाँँमा किनेर ल्याएको मोटरसाइकल तपाईंले किन्दा ३४ रुपैयाँँमा किनेर चढ्नु पर्ने हुन्छ त्यसपछि फेरि वार्षिक नविकरण ट्याक्स त छँदैछ ।
आज यो ‘करको दायरा फराकिलो’ पार्नकै लागि बाँदर लड्ने भीरमा खेतीपाती गरेर बस्ने दुर्गम गाउँ होस् वा अर्ध जंगलमा बस्ने गाउँ होस् त्यस्ता सबै गाउँलाई नगरपालिका बनाएर जन्मेदेखि मृत्यु दर्तासम्म ‘कर’ नै ‘कर’को भार थुपारेर नेपाली जनता उकुसमुकुस भएर बस्न बाध्य परिरहेको अवस्थामा पुगेको छ।
यी सबै भनेको के रहेछ भने हामी जस्तो सर्वसाधारणले बुझ्ने साधारण भाषामा ‘हिजोको अर्थतन्त्र होटलमा खान खाएको शुल्क मात्रै लिने गरिन्थ्यो भने बाबुरामको करको दायरा फराकिलो भन्दै ‘छलाङ अर्थतन्त्र’को युगमा प्रवेश गरेपछि ‘हात धोएको, शौचालय गएको, टेबुलमा बसेको समेतको मुल्य जोडेर शुल्क असुली गर्ने कामलाई भनेको रहेछ बाबुरामले ‘करको दायरा फराकिलो पार्ने !!’
तर हामीले बुझेनौं, वा बुझ्ने तर्फ लागेनौं, हामीलाई विद्वान् अर्थमन्त्री पाएकोमा मखलेल भएर बस्यौं ! र आजको २०६३ पछिको अर्थतन्त्र भनेको बाबुरामको करको दायरा फराकिलो हुने छलाङ अर्थतन्त्र हो र यही छलाङ अर्थतन्त्रको पृष्ठपोषक बुद्धिजीवी लेखक पत्रकार साहित्यकार सबै नेपाली समाजमा चर्चित विद्वान् ! बनाउने उद्योग जो चल्दै गर्छन् !
आज नेपाली कांग्रेस छोडेर एकजना युवा गए । अहिले बाबुराम भट्टराई भन्दै रहेछन् उहाँ जस्तो विद्वानको कदर भएन । त्यसपछि मिडिया टाइकुनहरुले उहाँ जस्तो विद्वान् ! उहाँ जस्तो काविलियत व्यक्ति ! भन्दै होहल्ला चल्दै रहेछ’ ! सबै मिडिया सबै विद्वान् सबका सबले एकै स्वरमा भन्न थालेपछि तपाईं हामी जस्तो लण्ठुहरुको दिमागमा पनि बिस्तारै हो क्यारे ‘हो क्यारे’ भन्दाभन्दै हो हो हो भन्दै उफ्रिदैं छौँ !! कसैले आएर के हो ? कसरी विद्वान् भनेर सोधे त्यो चाहिँ थाहा छैन !!
