काठमाडौं । सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सदस्यले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाए । त्यसपछि उनले मोबाइलन चलाउन आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस् ।’
बैठकमा सांसद शाहले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने पनि बताइन् । बहराईन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उनले यो सबै नेपालीका लागि गर्वको विषय भएको बताइन् ।