जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । एमालेबाट मन्त्री बनेका चारै जनाले आज राजीनामा दिने भएका छन् । मधेश प्रदेशमा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मो. जैद आलम मन्त्री छन् ।
उनीहरू चारै जनाले राजीनामा दिने तयारी गरेका हुन् । मधेश प्रदेशको सबैभन्दा ठूलो दल बनेको एमालेका प्रदेशसभामा २३ सांसद छन् । एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस, नेकपा एस र लोसपा सरकारमा सहभागी हुने तयारी छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै काम गर्न असहज भएको भन्दै एमालेले सरकारबाट बाहिरिने निर्णय लिन लागेको हो ।