पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।

देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे ।

यस्तो छ उनले गरेको सम्बोधनको पूर्णपाठ
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपार्इंहरूले राष्ट्रको हितका सम्बन्धमा चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकतालाई औंल्याएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नुभएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधीन रहेको र आफ्नै मौखिक मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधंै राम्रो लाग्छ, हामीलाई सधैं प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही आघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरूले दर्साउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपार्इंहरूबाट जुनप्रकारको चिन्ताचासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नुछ, निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रह्म हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम् धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ । तपार्इंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जाओस् ।

धन्यवाद । जय नेपाल ।
‘श्री ५’ लेखिएका ब्यानर हटाइयो
यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो ।

‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको होइन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिएको ब्यानर चाहिं हटाइएको हो ।’ पछिल्लो केही महिनायता शाह झापामा बस्दै आएका छन् । केही दिन अघि मात्रै उनी इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *