राजनीतिक प्रक्रियामा संलग्न सुडानी दलहरू शनिबारका लागि तोकिएको ‘अन्तिम राजनीतिक सम्झौता’मा हस्ताक्षर गर्ने कार्यतालिका अप्रिल ६ सम्मका लागि स्थगन गर्न सहमत भएका छन् ।
संयुक्त राष्ट्र सङ्घ र विकाससम्बन्धी अन्तर–सरकारी प्राधिकरण सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवम् सुडानी सेनाका कमाण्डर अब्देल फतह अल बुरहान, सार्वभौम परिषद्का उपाध्यक्ष तथा र्यापिड सपोर्ट फोर्सेजका कमाण्डर मोहम्मद हमदान डागालो, नागरिक सेनाका नेता र अफ्रिकी युनियनका प्रतिनिधिबीच शनिबार रिपब्लिकन प्यालेसमा भएको बैठकले उक्त निर्णय गरेको हो ।
सुडानमा सङ्क्रमणकालीन नागरिक प्राधिकरण निर्माण गर्ने उद्देश्यले अन्तिम राजनीतिक सम्झौतामा शनिबार हस्ताक्षर हुने तय भएको थियो ।
तर सुरक्षा र सैन्य सुधार पक्ष र सेनामा अनियमित सेनाको एकीकरणलाई लिएर सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेजबीचको मतभेदले सम्झौतामा हस्ताक्षर गर्ने मिति केही दिनका लागि स्थगित गर्नुपरेको हो ।
“शान्तिका लागि राजनीतिक प्रक्रिया’ का प्रवक्ता खालिद ओमेर युसिफले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बैठकले अन्तिम राजनीतिक सहमतिमा पुग्ने छलफलमा भएका प्रगतिको समीक्षा गर्नुका साथै सुरक्षा र सैन्य क्षेत्रमा सुधार, एकीकरण र आधुनिकीकरणका चरणसँग सम्बन्धित प्राविधिक विषयपहिचान गरेको छ ।
उनले भने, “बैठकमा सैन्य र नागरिक दलहरूले अप्रिल ६ मा अन्तिम राजनीतिक सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही दिन अघि नै बाँकी रहेका अवरोधलाई पार गर्ने प्रयासलाई दोब्बर बनाउने सर्वसम्मत निर्णय गरेका छन् ।
सन् २०२१ अक्टोबर २५ मा अल बुरहानले आपतकालीन अवस्था घोषणा गरेपछि सुडानमा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।