एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा साविक विजेता गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको उद्धाटन खेलमा चारपटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाइ पाँच विकेटले हराउँदै गुजरातले सुखद शुरुवात गरेको हो ।
जीतको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८२ रन बनाउँदै लक्ष्य भेट्टायो । गुजरातको लागि सुभ्मन गिलले ३६ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ६३ रन बनाउँदा विजय शंखरले २७, रिद्दिमान शाहले २५, साइ सुधर्सनले २२, राहुल टेवाटियाले १५ र रसिद खानले १० रनको योगदान गरे ।
चेन्नईको लागि राज्वर्धन हान्गार्गेकरले ४ ओभरमा ३६ रन दिएर तीन विकेट लिँदा तुषार देशपाण्डे र रविन्द्र जडेजाले समान एक-एक विकेट लिए ।
यसअघि नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । चेन्नईको लागि रुतराज गैकवाडले विस्फोटक ब्याटिङ गर्दै ५० बलमा ९ छक्का र ४ चौकाको मद्दतमा ९२ रन बनाए । यस्तै मोइन अलीले २३, सिब्हम डुवेले १९ कप्तान महेन्द्र सिंह धोनीले १४ र अम्बाती रायडूले १२ रनको योगदान गरे ।
गुजरातको लागि मोहम्मद शामी, रसिद खान र अल्जारी जोसेफले दुई-दुई विकेट लिँदा जोश लिटलले एक विकेट लिए । जीतसँगै गुजरातले दुई अंक जोडेको छ ।