मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी, कुन दलबाट को बन्दै छ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’ बारेमा अन्तिम टुंगो लाग्नेछ ।

मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३, ३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई समेत एक,एक मन्त्रालय छुट्याइएको बालुवाटर स्रोतको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सत्तारूढ दलका शीर्ष नेताहरूसँग सामूहिक एवं छुट्टाछुट्टै छलफलपश्चात् मन्त्रालयको भागबन्डा टुंगो लगाएका हुन् ।

लोसपा नेता केशव झाले करिब मन्त्रालयको टुंगो लागिसकेको र आज (मंगलबार) बस्ने सत्तारूढ दलको बैठकसँगै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

कुन दलबाट को हुँदै छन् मन्त्री ?

कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोही बैठकबाट मन्त्री हुने नेताको नामावली टुंगो लाग्ने बताइएको छ ।

कांग्रेसले पाउने मन्त्रालयमा को–कसलाई पठाउने भन्ने नामावली पार्टी सभापति देउवाले करिब टुंगो लगाइसकेको भए पनि त्यसलाई पार्टीको बैठकबाट अनुमोदन गराउन बाँकी छ ।

माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।

एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा. बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो ।

यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । सल्यानबाट निर्वाचित ज्वाला यसअघि कर्णाली प्रदेशमा अर्थमन्त्री बनेका थिए ।

मन्त्रालय टुंगो नलागे पनि एकीकृत समाजवादीले मन्त्री बन्ने तीन जनाको नाम टुंगो लगाएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।

लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले राईलाई छोडेर राजकिशोर र प्रदीपलाई नै पठाउने योजनामा रहेका छन् । यस्तै, आमजनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ । याे समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *