पोर्चुगलको फराकिलो जीतमा रोनाल्डोको दुई गोल

एजेन्सी । युईएफए युरोकप-२०२४ छनोटमा पोर्चुगलले फराकिलो जीत निकालेको छ । आइतबार राति भएको खेलमा लक्जमबर्गलाई ६-० गोलले हराउँदै पोर्चुगलले छनोटमा लगातार दोस्रो जीत निकालेको हो ।

स्टाडे डी लक्जमबर्गमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै जोए फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफायल लोओले समान एक-एक गोल गरे । खेलको नवौं मिनेटमा नुनो मेन्डेसको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा बर्नाडो सिल्भाको पासमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

१८ औं मिनेटमा पाल्निहाको पासमा बर्नाडोले गोल गर्दै पोर्चुगललाई फराकिलो जीततर्फ अगाडि बढाए । ३१ औं मिनेटमा ब्रुनोको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए । ७७ औं मिनेटमा लेओको पासमा ओटाभियोले गोल गर्दा पोर्चुगलले खेलमा ५-० गोलको अग्रता लिएको थियो ।

यस्तै ८९ मिनेटमा नेभेसको पासमा लेओले गोल गर्दै पोर्चुगललाई ६-० गोलको फराकिलो जीत दिलाएका हुन् । जीतसँगै पोर्चुगल दुई खेलबाट ६ अंक जोड्दै समूह ‘जी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको लुक्जमबर्ग एक अंकसहित पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *