काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज घरेलु टोली नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे शुरु हुनेछ ।
आजको खेल नेपालको लागि निकै महत्त्वपूर्ण रहेको छ । भारतमा हुने आगामी विश्वकपको छनोटमा सिधै छनोट हुन नेपाललाई जीतको विकल्प छैन । नेपाल हाल ३५ खेलबाट ३८ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ । एक खेल बढी खेलेको नामिबिया ३९ अंकको साथ तेस्रो स्थानमा रहेको छ । नेपाल आजको खेलमा विजयी भएको खण्डमा ४० अंक जोड्दै तेस्रो स्थानमा उक्लिनेछ । जसको मतलब नेपाल सिधै विश्वकपको छनोटमा पुग्नेछ ।
आजको खेलमा पराजीत भएको खण्डमा विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफ खेल्नु पर्नेछ । एक महिना अगाडि खराब लयमा रहेको नेपालले नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनसँगै लगातार उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालले आफ्नो पछिल्लो ११ खेलमा १० खेल जितेको छ । स्कटल्याण्ड र नामिबिया सम्मीलित घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेको नेपालले युएईमा भएको घरेलु टोली र पीएनजी सम्मीलित सिरिजमा चार मध्य ३ खेल जितेको थियो । उक्त सिरिजमा नेपालले एक खेल युएईसँग गुमाएको थियो । त्यसपछि हाल घरेलु मैदानमा भएको सिरिजको शुरुवाती तीन खेलमा नेपालले पीएनजीलाई दुईपटक र युएईलाई एकपटक हराइसकेको छ ।
यता युएईलाई भने गुमाउनु केहि छैन । सोझै एकदिवसीय मान्यता कायम राख्ने अवसर गुमाइसकेको युएई आज प्रतिष्ठाको लागि खेल्नेछ । हाल युएई ३५ खेलबाट ३३ अंकको साथ तालिका छैटौं स्थानमा रहेको छ । सिधै विश्वकपको छनोट खेल्ने अवसरपनि गुमिसकेको हुनाले आज युएई सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । युएईले आफ्नो पछिल्लो पाँच खेलमा मात्र एक जीत निकालेको छ । दुई टोलीबीचको पछिल्लो पाँच भेटमा नेपालले चार खेल जितेको छ ।