काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले सहज जीत निकालेको छ । बुधबार बेलुकी भएको खेलमा न्यूरोड टिम(एनआरटी)लाई ३-० गोलले हराउँदै मनाङले लिगमा दोस्रो जीत निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जीत दिलाउन रोशन राना मगर, सायिद्जामोल डाभ्लाजोनोभ र कोफी तिमोथे कुडोले समान एक-एक गोल गरे । पहिलो हाफको ३८ औं मिनेटमा रन्दिप पौडेलको पासमा रोशनले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६९ औं मिनेटमा डाभ्लाजोनोभले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । ८८ औं मिनेटमा कुडोले गोल गर्दा मनाङ सहज जीततर्फ अगाडि बढेको थियो । इन्जुरी समयमा गौरभ श्रेष्ठको पासमा अशोकले गरेको गोल एनआरटीको लागि सान्तवना साबित भयो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मनाङ ३-१ गोलले विजयी भयो । जीतसँगै मनाङले ४ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट एक अंक जोडेको एनआरटी १३ औं स्थानमा रहेको छ ।