काठमाडौं । नाइजेरियन फरवार्ड ओलावाले अफिजले दुई गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा साविकं विजेता मछिन्द्र फूटबल क्लबले पहिलो जीत निकालेको छ । मंगलबार बेलुकी भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ गोलले हराउँदै मछिन्द्रले जारी लिगमा पहिलो जीत दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रको जीतमा ओलावालेले दुई गोल गर्दा पुलिसको लागि अन्जन राईले एक गोल गरे । सबै गोल पहिलो हाफमा भएको हो । खेलको नवौं मिनेटमै रवि पासवानको पासमा अन्जनले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अफिजले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए ।
४० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ गोलको अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मछिन्द्र २-१ गोलले विजयी भयो ।
जीतसँगै मछिन्द्र ४ खेलबाट ४ अंक जोड्दै लिगको ११ औं स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहिन पुलिस पुछारमा छ ।