राष्ट्रपति पौडेललाई भारत र अमेरिकाको बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरकेी छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।

पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गरेकी छन् ।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको बधाई सन्देशमा उल्लेख छ । द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताएकी छन् ।
राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *