काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् ।
सोमबार पद्योदय विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताएका हुन् ।
उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए ।
उनले भने, ‘देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ । यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’
प्रधानमन्त्रीले प्राविधिक शिक्षालाई जोड दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘प्राविधिक शिक्षालाई जोड दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक छ । यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य जरूरी छ ।’