एजेन्सी । राफिन्हाको गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगमा जीत निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १-० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको हो ।
सान मामेसमा भएको खेलमा राफिन्हाले गरेको गोलनै बार्सिलोनालाई जीत दिलाउन पर्याप्त बन्यो । पहिलो हाफको इन्जुरी समयमा बुस्केटको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा विलियम्सले गरेको गोल भिएआरले फावल दिँदा एथ्लेटिक निराश बनेको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना १-० गोलले विजयी भयो । जीतसँगै बार्सिलोना २५ खेलबाट ६५ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ३३ अंक जोडेको एथ्लेटिक नवौं स्थानमा रहेको छ ।