सहज बन्दै विदेशी मुद्रा सञ्चिति

काठमाडौं । आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति दबाबमा परेको त्यस्तो अवस्थाबाट परिस्थितिमा अहिले धेरै सुधार आइसकेको छ । आयातमा लगाइएको प्रतिबन्ध र मार्जिनको व्यवस्थाले सञ्चितिमा सुधार मात्र ल्याएन, परिस्थिति सहज भएपछि सरकारले अहिले दुवै व्यवस्था खारेजसमेत गरिदिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकसँग १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा डलर सञ्चिति छ । यो रकम चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा १० महिना २४ दिनको वस्तु आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ । त्यस्तै यो सञ्चितिबाट नौ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ ।

राष्ट्र बैङ्कका अनुसार गत असार मसान्तको तुलनामा माघसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति ९६ करोड डलरले बढेको छ । असार मसान्तसम्म मुलुकसँग नौ अर्ब ५४ करोड डलर सञ्चिति थियो ।

पछिल्ला केही महिनायता सञ्चितिमा आएको यस्तो सुधारले विदेशी मुद्रा सहज बन्दै गएको छ । अहिले रहेको कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग नेपाली मुद्रामा १२ खर्ब २८ अर्ब रुपियाँ छ भने बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब रुपियाँ रहेको छ ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *