माओवादी धारका पार्टीहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै

काठमाडौं । माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । सम्मेलनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहनेछन् ।

द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने भनी २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका छन् ।

शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको आदेशबमोजिम दर्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।

बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

मुद्दाको टुंगो अन्तिम सुनुवाइपछि लाग्ने भन्दै तत्काल अन्तरिम आदेश भने दिनुनपर्ने ठहर सर्वोच्चले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *