डा. युवराज संग्रौला ।
समाजहरु परिवर्तन भइरहन्छन् र यो परिवर्तनलाई हामीले क्रान्ति भन्ने गरेका छौं ।तर क्रान्ति प्रतिक्रियात्मक र प्रतिगामी हुँदैन । त्यस्तो भयो भने त्यसलाई प्रतिक्रान्ति भनिन्छ । क्रान्तिले त मानव जीवनमा उन्नयन र शान्तिको उत्भव पैदा गर्छ । क्रान्तिले सपना बोकेको हुन्छ र त्यो सपनालाइ बैचारिक आस्थाले डोर्याउँछ । नेपालमा थुप्रै क्रान्ति भए, नेपालीको उन्नयन हुन सकेन । त्यसैले ती क्रान्तिलाई नेपाली जनताले आज धोका भन्ने गरेका छन् । किनकि ती क्रान्तिको सपना ‘जनताका सपना हुनबाट रोकिएन मात्र अपहरण गरियो र नेताका सपना बनाइयो।’ यसो किन भयो भने ‘जनतासँग त बैचारिक आस्था थियो तर नेताहरुमा स्खलित भयो।’
१. आस्थाका लागि मानिसले सहजै ज्यान अर्पित गर्छ। नेपाली कांग्रेसमा यस्ता मानिस थिए। नेकपा माले, एमालेमा यस्ता मानिस थिए । नेकपा माओवादीमा यस्ता मानिस थिए । उनीहरुको जीवन समर्पण मन्त्री भएर राज्यको धन चुस्नु थिएन । तर उनीहरुले ज्यान दिएका क्रान्तिहरु आज बदनाम छन् । तर पनि किन त्यसो भयो भनेर सोच्ने होइन, नेताहरू वक्तब्य दिन्छन् ।
२. कस कसले गल्ती गर्यो यस क्रममा ? हिजो शान्ति र संक्रमणको अवस्था सबैले चाहेको थियो । घटनाहरुमा राजनीतिका नाममा अपराध पनि भएका थिए । शान्ति र कानुन बहालीका नाममा दमन र अपराध भएका थिए । माओवादी आस्था बोकेका कारणले राज्य चरा मारेझैं मानिस मार्यो । मारेन ?अनि माओवादीले वर्ग संघर्ष र वर्ग शत्रुका नामा शिक्षक, फरक आस्था राख्नेलाई मार्यो। मारेन ?
३. २०६३ पछाडि दाउपेचबाट आस्था मार्ने काम हुन थाल्यो । हरेकले हरेकलाई निषेध गर्ने काम गरे । नेताले मिलिमिली राज्य दोहे, जनतालाई भिडाइरहे । त्यही कार्यकर्ता एकातिर हुंदा अपराधी/साधु भयो, अर्कातिर गएपछि साधु/अपराधी भयो। यही कारण संक्रमणकालिन न्याय हुन सकेन । दुबैले गरेका अत्याचारका पीडितले न्याय पाएनन् ।
४. किन पाएनन् ? नेपाल विदेशीले भ्रष्टाचार गर्ने, आफना रणनीति प्रयोग गर्ने, आफूले कमाउने, र आफ्ना मानिसलाई जागिर दिने अखडा बन्यो । दातृ संस्थाको सहयोगका नाममा नागरिक फुटाएर नेपाललाई कमजोर बनाउने धन्दा मौलायो । नेपालमा एनजिओ चलाएर कमाउनेले कसैले माओवादीलाई हेग पुर्याउने खेल रचेर कमाउनुसम्म कमाए । सर्वोच्च अदालतमा मुद्दा हालेर पैसा कमाउनेको सानो संख्या थिएन । अहिले तिनै मध्येका कोही अर्को पट्टि फर्किए । नेपालमा संक्रमणकालिन न्यायको खेती गर्नेले माओवादीको सातो नै उडाए ।
५. गर्दागर्दै नेपालको राजनीति विदेशीले चलाउन थाले । हेग जानुनपरोस् भनेर र संघीयता स्वीकारे, धर्मनिरपेक्षता स्वीकारे । स्वीकार्दा स्वीकार्दा ‘कम्युनिष्ट विचारधारा छोडेर वित्तिय पूँजींवाद समेत स्वीकारे । आज बैचारिक आस्था भन्ने कुनै चरा नै बाँकी रहेन । शासन विदेशीले गर्छन्, नाम पार्टीको छ । देश अहिले “नियन्त्रित अस्थिरता’ को जकडमा छ । कसरी भयो यस्तो ? यो अवस्था ‘नेपाली राजनीति वैचारिक आस्थाहीन अनैतिकताको दलदलमा जाकियो अनि विदेशीको अधीन जम्यो, वा विदेशीले राज्यका अङ्ग अङ्गमा पकड जमाएर घात हाल्यो अनि राजनीति अनैतिकताको दलदलमा जाकियो ?’ जे होस्, समस्या गंम्भीर छ । तर ‘जिम्मेवारी मूलतः राजनीतिक बैचारिक आस्थाहीन पार्टी र विदेशीको चाकरी गरेर मस्ती गर्ने एनजिओको छ।’
६. यो समस्याको समाधान खोजेर देशलाई सम्पन्न गर्नमा ध्यान छैन । राष्ट्रवादीलाइ राजा मात्र चाहिएको छ, देश भाँडमा गए हुन्छ । हिन्दूवादीलाई हिन्दू धर्म मात्र चाहिएको छ, देश भाँडमा गए हुन्छ । गणतन्त्रवादीलाई राजतन्त्र नभए पुग्छ, देश भाँडमा गए हुन्छ । युवालाई विदेश भए पुग्छ, देश भाँडमा गए हुन्छ । पत्रकार विदेशीको भोज खान जान्छ र मालिक र विदेशीका लागि संमाचार लेख्छ । मालिक र विदेशीको दाना खान नपाएका जति अस्लील गाली गरेर पहिचान बनाउँछ ।
सोच बदल्ने बेला भयो नि अब त जनता दह्रो भएन भने लोकतन्त्र राजतन्त्र केही रहँदैन । जनता दह्रो धनी भएपछि मात्र हुन्छ । धनी हुन उत्पादन र श्रममा आस्था हुनुपर्छ । उत्पादन र श्रममा आस्था हुन देशभक्त हुनुपर्छ । देशभक्त हुन जागृत र सचेत हुनुपर्छ । जागृत र सचेत हुन बिज्ञान सिक्नुपर्छ । देशमा विश्वविद्यालय र स्कूल ज्ञान होइन प्रमाणपत्रको मुठो दिन्छन् । हाम्रो देश कमजोर भयो भने विदेशीलाई हाम्रो रणनीतिक भूराजनीति प्रयोग गर्ने अवसर प्राप्त हुन्छ। प्यालेस्टाइन बन्नु भन्दा ढक्कन खोलौं र ‘नेपाललाई स्वनिर्भर र गौरवशाली बनाउन लागौं ।’
